काठमाडौँ । अमेरिका र इरानबीच भइरहेको आणविक वार्ता र युद्धविरामको प्रक्रियामा वासिङ्टनले इजरायललाई एक्लाएको दाबी गरिएको छ ।
न्युयोर्क टाइम्सको एक प्रतिवेदनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस वार्ताका गतिविधिका बारेमा इजरायललाई प्रत्यक्ष जानकारी दिन छाडेको छ । यसका कारण इजरायली अधिकारीहरूले अहिले अन्य कूटनीतिक च्यानल र गुप्तचर संयन्त्रको सहयोगमा सूचना संकलन गरिरहेको बुझिएको छ ।
यो नयाँ विकासक्रमलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ठूलो धक्काका रूपमा हेरिएको छ । आफूलाई ट्रम्पको निकटतम साझेदारका रूपमा प्रस्तुत गर्दै आएका नेतन्याहूले यसअघि अमेरिकी निर्णयहरूमा आफ्नो बलियो प्रभाव रहने दाबी गर्थे । तर, ट्रम्प प्रशासनले अहिले सन् २०१५ को आणविक सम्झौता जस्तै इरानको आणविक गतिविधिलाई सीमित गर्ने अल्पकालीन योजनामा काम अघि बढाएको छ, जसको नेतन्याहूले विगतदेखि नै तीव्र विरोध गर्दै आएका थिए ।
इजरायलका लागि इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम वार्ताको कार्यसूचीमा नपर्नु अर्को ठूलो चिन्ताको विषय बनेको छ । हालैका महिनाहरूमा इरानी क्षेप्यास्त्र प्रहारबाट क्षति ब्यहोरेको इजरायल यस मुद्दालाई ओझेलमा पारिँदा असुरक्षित महसुस गरिरहेको छ । साथै, अमेरिकाले आर्थिक प्रतिबन्धहरू खुकुलो बनाएमा इरानले प्राप्त गर्ने अर्बौं डलर क्षेत्रीय सशस्त्र समूहहरू र आफ्ना सैन्य कार्यक्रममा खर्च गर्न सक्ने डर पनि इजरायललाई छ ।
युद्धको सुरुवातमा यी दुई देशबीच बलियो सैन्य समन्वय रहे तापनि इरानले होर्मुज जलडमरु बन्द गरेर तेलको मूल्य बढाएपछि ट्रम्प प्रशासनको प्राथमिकता युद्ध अन्त्य गर्नेतर्फ मोडिएको र यसले गर्दा दुई राष्ट्रबीचको नीतिमा दूरी बढेको प्रतिवेदनमा उल्लेख छ ।

