काठमाडौँ । काठमाडौँमा सञ्चालन भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज विभिन्न तीन खेलहरू खेलाइँदै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने आजको तेस्रो खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्दै छ । साँझ ५ बजे सुरु हुने यस खेलमा सेमिफाइनल यात्रा सुरक्षित गर्न नेपाललाई सोझो सेटको जित आवश्यक रहेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि उत्कृष्ट जित दर्ता गरेको थियो । अर्कोतर्फ माल्दिभ्सले भने आफ्ना सुरुवाती दुवै खेलहरू भारत र किर्गिस्तानसँग सोझो सेटमा गुमाइसकेको छ ।
आजै हुने अन्य खेलहरूमा दिउँसो १२ बजे पुल ‘बी’ मा रहेका इरान र श्रीलंका भिड्नेछन् भने दिउँसो साढे २ बजे बंगलादेश र काजकिस्तानबीच प्रतिस्पर्धा हुने तालिका छ । जेठ १४ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालसहित कूल ८ देशले सहभागिता जनाएका छन् । नेपाली टोलीको कप्तानी निरुता ठगुन्नाले गरिरहेकी छन् ।

