काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि दौडमा रोयल च्यालेन्जर्स बैंगलुरुले पुनः आफ्नो वर्चस्व साबित गरेको छ । गएराति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले स्तब्ध पार्दै बैंगलुरु लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
गुजरातले प्रस्तुत गरेको १५६ रनको चुनौतीलाई बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर सहजै पछ्यायो । बैंगलुरुलाई उपाधि दिलाउन कप्तान विराट कोहलीले कप्तानी इनिङ खेल्दै अविजित ७५ रनको योगदान दिए । त्यस्तै टोलीको जितमा वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन जोड्दै बलियो साथ दिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन पर्याप्त भएन । अन्य ब्याटरहरूमा निशान्त सिन्धुले २० र जोस बटलरले १९ रन जोडे । गुजरातलाई सस्तैमा रोक्न बैंगलुरुका बलर रासिख सलामले घातक बलिङ गर्दै ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडको भागमा २-२ विकेट रह्यो ।
यो जितसँगै बैंगलुरुले लगातार दोस्रो वर्ष पनि आइपिएलको ट्रफी आफ्नो कब्जामा राख्न सफल भएको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराट कोहली ‘प्लेयर अफ द म्याच’ घोषित भए भने बहुप्रतीक्षित प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ को उपाधि वैभव सुर्यबंशीले हात पारे ।

