काठमाडौँ । मुलुकको पूर्वी भू-भागमा मनसुनी वायु सक्रिय हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ । अहिले कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने मधेश र बागमतीको तराई क्षेत्रमा आंशिक बादल लागेको छ । लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा भने मौसम सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका तराई क्षेत्र र देशका सम्पूर्ण पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने अनुमान छ । मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने देखिन्छ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहनेछ । पानी पर्ने सम्भावनाको कुरा गर्दा कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरू तथा बागमती र गण्डकीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ । तराई क्षेत्रतर्फ कोशीका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पानी पर्ने अनुमान गरिएको छ । यद्यपि, लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीको तराई क्षेत्रमा पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
आज रातिको मौसम पनि पूर्वी क्षेत्रमा बदली नै रहने देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र कोशीको तराईमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत अन्य बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित पानी वा हिमपात हुन सक्छ । त्यस्तै, मधेश प्रदेश र कोशीको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

