काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कसुरदार ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि हिजो उक्त फैसला सुनाएको हो ।
अदालतले रायमाझी र खाणबाहेक पूर्वगृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, र नरेन्द्र केसीलाई पनि दोषी ठहर गरेको छ । त्यस्तै, बिचौलिया तथा अन्य सहयोगीहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई समेत अदालतले कसुरदार मानेको छ ।
यस हाइप्रोफाइल मुद्दाका अन्य ७ जना प्रतिवादीले भने सफाइ पाएका छन् । सफाइ पाउनेहरूमा टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । उनीहरूविरुद्धको कसुर पुष्टि हुन नसकेको अदालतले जनाएको छ ।
यसैगरी, फरार सूचीमा रहेका अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईँ, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेका बखत कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने फैसला भएको छ । अदालतले दोषी ठहर भएका व्यक्तिहरूलाई कति सजाय हुने भन्ने विषयमा निर्णय गर्न आउँदो असार २९ गतेका लागि पेसी तोकेको छ ।

