काठमाडौँ । फिफा विश्वकप फुटबलको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।
कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको धेरैजसो समय १-१ को बराबरीमा सकिए पनि अन्तिम समयमा दुई गोल थप्दै अर्जेन्टिनाले जित हात पारेको हो ।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमै नर्वेलाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
खेलको सुरुवाती १०औँ मिनेटमै लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गरेपछि अर्जेन्टिनाले १-० को अग्रता लिएको थियो । यो विश्वकपमा मेस्सीले गोलका लागि सिर्जना गरेको यो १०औँ अवसर हो । खेलको दोस्रो हाफमा स्विट्जरल्यान्डका डान एनडोयेले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याए ।
बराबरी गोल लगत्तै स्विट्जरल्यान्डलाई ठूलो झट्का लाग्यो, जब भिडियो समीक्षा (VAR) पछि ब्रिल एम्बोलोले दोस्रो पहेँलो (रातो) कार्ड पाउँदै मैदान छाड्नुपर्यो । १० खेलाडीमा सीमित स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयमा अर्जेन्टिनाले लगातार आक्रमण बुनेको थियो । खेलको ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको ३-१ को जित पक्का भयो । खेलमा मेसी आफैँले गोल गर्न नसके पनि पहिलो गोलको अवसर सिर्जना गर्दै टिमको जितमा मुख्य भूमिका खेले ।
अर्जेन्टिनाले लगातार कठिन चुनौतीहरू पन्छाउँदै यसपटक सेमिफाइनलको यात्रा तय गरेको हो । यसअघि उसले अतिरिक्त समयमा केप भर्डेलाई पराजित गरेको थियो भने प्री-क्वार्टरफाइनलमा इजिप्टविरुद्ध २-० ले पछि परेको स्थिति उल्टाउँदै क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो ।

