काठमाडौँ । फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्डबीच भिडन्त हुँदैछ ।
उपाधि जित्ने योजना अधुरै रहेपछि यी दुवै टोली सान्त्वना स्थानका लागि मैदान उत्रन लागेका हुन् । मियामी स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार भोलि बिहान २: ४५ बजे सुरु हुनेछ ।
आफ्ना खेलाडी र विपक्षी टोली दुवै यो खेल खेल्न इच्छुक नरहेको इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेलले बताएका छन् । सबैको मुख्य उद्देश्य फाइनल खेल्नु भए पनि परिस्थिति अनुसार तेस्रो स्थानका लागि खेल्नुपरेको उनले स्वीकार गरे । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले भने निराशाका बीच पनि तेस्रो स्थान हात पार्न कडा मिहिनेत गर्ने स्पष्ट पारेका छन् । फ्रान्सेली टोलीको जिम्मेवारीबाट बाहिरिन लागेका डेसचाम्पले लक्ष्य अनुसार अघि बढ्न नसके पनि अब प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने धारणा राखे । सेमिफाइनलसम्मको यात्रा सहज बनाएको फ्रान्स स्पेनको बलियो रक्षापङ्क्ति र मध्यपङ्क्तिसामु निरिह बन्दा बाहिरिएको थियो ।
यता इङ्ग्ल्यान्ड भने अर्जेन्टिनासँगको सेमिफाइनल खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । एन्थोनी गोर्डनको गोलबाट अघि बढेको इङ्ग्ल्यान्ड अत्यधिक रक्षात्मक बन्दा अर्जेन्टिनाले पुनरागमनको मौका पाएको थियो । विश्वकप इतिहासमा यी दुई टोलीबीच यसअघि तीन पटक प्रतिस्पर्धा भएको छ । सुरुवाती दुई भेट (सन् १९६६ मा २-० र सन् १९८२ मा ३-१) इङ्ग्ल्यान्डले जितेको थियो भने सन् २०२२ को क्वार्टरफाइनलमा फ्रान्स २-१ ले विजयी भएको थियो । समग्रमा पछिल्ला नौ खेलमध्ये इङ्ग्ल्यान्डले फ्रान्सलाई एक पटक मात्र हराउन सकेको छ भने सन् १९८२ यताका प्रतिस्पर्धात्मक खेलमा फ्रान्सविरुद्ध जित निकाल्न सकेको छैन ।
यस खेलमा केही मुख्य खेलाडीले विश्राम पाउने सम्भावना रहे पनि व्यक्तिगत कीर्तिमानका लागि यो महत्त्वपूर्ण हुनेछ । इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा १४ गोल गरिसकेका छन् र थप एक गोल गरेमा उनले ब्राजिलका रोनाल्डो नाजारियोको १५ गोलको कीर्तिमान बराबरी गर्नेछन् । फ्रान्सका किलियन एम्बाप्पे २० गोलसहित दोस्रो स्थानमा छन् र उनी शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसी (२१ गोल) भन्दा एक गोलले मात्र पछि छन् । फ्रान्सका प्रशिक्षक डेसचाम्पका लागि पनि यो बिदाइ खेल विशेष बन्नेछ, जसले सन् १९९८ मा खेलाडी र सन् २०१८ मा प्रशिक्षकका रूपमा उपाधि जिताएका थिए ।

