दाङ । दाङको घोराहीमा ट्याक्टर र अटो रिक्सा एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–७ बेसाहीस्थित सडकखण्डमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा जुधेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बाँकेस्थित मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था भने मध्यम रहेको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर र त्यसका चालक घोराही–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान अघि बढाएको छ ।

