काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण स्पाइकर्स किङ भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यो प्रतिस्पर्धा दिउँसो ४ बजे सुरु हुनेछ । शुक्रबार भएको रोमाञ्चक प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पाखा लगाउँदै कर्णालीले फाइनलको यात्रा तय गरेको हो । अर्कोतर्फ, अन्नपूर्ण स्पाइकर्स किङ भने समूह चरणको तालिकामा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको थियो ।
यसअघि समूह चरणको भिडन्तमा कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा हराएको इतिहास छ । केडिया समूहको आयोजनामा सञ्चालित यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
नेपाली पुरुष भलिबल इतिहासकै पहिलो फ्रेन्चाइज लिगको विजेताले रु २० लाख नगद पुरस्कार हात पार्नेछ, जुन नेपाली भलिबल क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो ।

