चितवन । दसैँको विदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न २० हजारभन्दा बढी पर्यटक पुगेका छन् ।
असोज २३ गतेदेखि निकुञ्जभित्र नियमित जिप सफारी खुला गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लो बनेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस अवधिमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना तेस्रो मुलुकका विदेशी र ८३१ जना सार्क राष्ट्रका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् । यस पर्यटक आगमनबाट निकुञ्जले कुल रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन गरेको छ । जसमध्ये नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र विदेशी पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार संकलन भएको छ ।
एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन पुग्ने गर्छन् । यसपटक सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत सहजै देखिन थालेपछि पर्यटकको उत्साह थप बढेको छ ।
निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडी क्षेत्रबाट एउटा गरी दर्जनौँ जिप सफारी सञ्चालनमा रहेका छन् । वर्षायाममा निकुञ्जभित्रको सफारी रोकिए पनि मध्यवर्ती तथा सामुदायिक वनमा भने हात्ती र जिप सफारी निरन्तर चल्ने गर्दछ ।

