काठमाडौँ । छिमेकी मुलुक भारतसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यका साथ प्रधानमन्त्री बालेन्द्र शाह आज नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीतर्फ लाग्नेछन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तय भएको छ । उनको स्वागतार्थ विमानस्थलदेखि राष्ट्रपति भवनसम्मको मार्गमा नेपाल र भारत दुवै देशका राष्ट्रिय झन्डा फहराएर विशेष सजावट गरिएको छ ।
दिल्ली अवतरण गरेलगत्तै प्रधानमन्त्री शाहले आजै होटल ताजमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पहिलो औपचारिक राजनीतिक भेटवार्ता गर्नेछन् ।
भ्रमणको मुख्य दिन सोमबार बिहान प्रधानमन्त्री शाहलाई विशेष समारोहका बीच ‘गार्ड अफ अनर’ सहित राजकीय सम्मान प्रदान गरिने कार्यसूची छ । सोही दिन उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । यस्तै, हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गरेपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । सोही अवसरमा हैदराबाद हाउसबाटै दुवै समकक्षीले श्रव्यदृश्य (भर्चुअल) माध्यममार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मीहरू सहभागी छन् । यसका साथै, निजी क्षेत्रबाट ५२ जना व्यवसायीहरूको टोली पनि आफ्नै खर्चमा प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जान लागेको मन्त्रालयले जानकारी दिएको छ ।

