जनकपुर । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर अगाडि बढ्ने चाहना मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले व्यक्त गरेका छन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सहमतिको वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन् ।
सबै दल मिलेर सरकार गठन गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले सोहीअनुसार राजनीतिक दलहरूसँग संवाद अघि बढाउने जानकारी दिए । आफ्नो नेतृत्वमा बन्ने सरकारमा सबै दलको सहभागिता रहने विश्वास उनले व्यक्त गरेका छन् । तोकिएको समयसीमाभित्रै प्रदेशसभाबाट विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको उनले बताए ।
त्यसअघि प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई शपथ गराएका थिए ।

