मुस्ताङ । चालु आर्थिक वर्षको सुरुवाती चार महिनामै चीनसँग जोडिएको कोरला नाका हुँदै सात हजार वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल आयात भएका छन् ।
मुस्ताङ भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत वर्षभरिमा उक्त नाकाबाट तीन हजार २२३ वटा मात्रै यस्ता सवारी भित्रिएका थिए ।
यति छोटो अवधिमा यति ठुलो परिमाणमा विद्युतीय गाडी भित्रिएको यो नै पहिलो अवसर भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि व्यापारीहरूले कोरला नाकालाई विकल्पका रूपमा प्रयोग गर्दा आयात ह्वात्तै बढेको हो ।
तथ्याङ्कअनुसार साउन महिनामा १००, भदौमा एक हजार २५३ र असोज तथा कात्तिक महिनामा पाँच हजार ६४७ वटा विद्युतीय गाडी भित्रिएका छन् । तर, भन्सार जाँचपास भइसकेका ती गाडीहरूलाई गन्तव्यसम्म पुर्याउन भने निकै कठिन देखिएको छ । जोखिमपूर्ण भौगोलिक सडक र अनुभवी चालकको अभावका कारण भन्सार पास भएका दर्जनौँ गाडीहरू बाटोमै अलपत्र परेका छन् ।
यही अवधिमा मुस्ताङ भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा साढे तीन अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयको वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँ रहेकोमा पहिलो चौमासिकमै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व उठेको भन्सार अधिकृत सिंहले जानकारी दिए ।
चार महिनाको अवधिमा चीनबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका छन् । आयातित वस्तुहरूमा विद्युतीय सवारीसाधनका साथै लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न मुख्य रहेका छन् ।
यसैगरी, सोही नाका हुँदै नेपालबाट चीनतर्फ २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका सामान निर्यात भएका छन् । निर्यात हुने सामग्रीमा विशेषगरी नेपाली हस्तकलाका वस्तु तथा स्वदेशी उत्पादनहरू समावेश रहेको कार्यालयले जनाएको छ ।

