काठमाडौँ । कतारको दोहामा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद पुनरागमन गरेको छ ।
आइतबार सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अलराउन्डर कुशल भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । मयन यादवले २७ रन र बसिर अहमदले अविजित १८ रन जोडे भने पवन सर्राफ ९ रनमा अविजित रहे । युएईका बलरमध्ये मुहमद मोहसिनले २ विकेट लिँदा उद्दिश सुरी र अंश टन्डनले १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमै अलआउट भएको थियो । युएईका मुहमद शाहदादले सर्वाधिक ४० रन र हरप्रित सिंहले ३२ रन बनाउँदा नूरुल्लाह आयोबीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । युएईको पारी धराशायी बनाउन नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै मात्र ११ रन खर्चिए भने कुशलले ५ ओभरमा १५ रन दिए । राशिद खान, नन्दन यादव र ललित राजवंशीले १–१ विकेट लिए ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना कायमै राखेको छ । नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार पाकिस्तान ए सँग खेल्नेछ । लगातार दोस्रो हार बेहोरेको युएईले पनि मंगलबार नै आफ्नो अन्तिम खेलमा भारत ए को सामना गर्नेछ ।

