उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा गरिएको निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएकामध्ये करिब ११ प्रतिशत व्यक्तिमा मोतियाबिन्दुको समस्या फेला परेको छ । नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालन गरिएको शिविरमा एक हजार ४०० जनाको आँखा परीक्षण गर्दा १५० जनामा मोतियाबिन्दु देखिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारणलाई लक्षित गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
शनिबार सम्पन्न शिविरमा सेवा लिने एक हजार ४०० जनामध्ये ८०५ जना विद्यार्थी तथा बाँकी अभिभावक, शिक्षक र स्थानीय बासिन्दा रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
मोतियाबिन्दु देखिएका बिरामीका लागि आवश्यक चस्मा वितरण तथा शल्यक्रियाको व्यवस्था मिलाइएको छ । चस्मा लगाउँदा पनि दृष्टिमा सुधार नआउने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि लहानस्थित आँखा अस्पताल पठाउने सिफारिस गरिएको छ । शिविरमा २१ जना विद्यार्थीलाई चस्मा प्रदान गरिएको छ ।
पहिल्यै पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको थियो । तीमध्ये पहिलो र दोस्रो दिनमा फेला परेका ३५ जनाको शुक्रबार नै शल्यक्रिया गरिएको छ भने बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल लगिएको नगरपालिकाले जनाएको छ ।
बाँकी ५१ जना बिरामीको पनि आइतबारसम्म शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । डा विनय कामतको नेतृत्वमा आएको आँखा टोलीले विद्यालयमै पुगेर जाँच तथा उपचार सेवा दिएपछि स्थानीय बासिन्दा र विद्यार्थीले सहज रूपमा सेवा पाएका छन् ।

