काठमाडौँ । औपचारिक उद्घाटन आउन केही दिन बाँकी छँदै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका पाँच विधाका प्रतिस्पर्धा आज मङ्गलबारदेखि सुरु हुँदैछन् ।
मंसिर १६ गते औपचारिक उद्घाटन तय भए पनि कार्यतालिकाअनुसार विभिन्न खेलका भिडन्तहरू आजैबाट मैदानमा उत्रिन लागेका हुन् ।
प्रतियोगिताको प्रारम्भिक चरणअन्तर्गत आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सञ्चालन हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाबमोजिम प्रतियोगितामा समावेश कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै खेलाइनेछ । बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा प्रतिस्पर्धा हुने तय भएको छ ।
यस बृहत् खेलकुद महाकुम्भमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी कुल ११ टिमको सहभागिता रहनेछ । खेलाडीहरूले ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि आफ्नो कौशल प्रदर्शन गर्नेछन् । दशौँ संस्करणको मुख्य विशेषताका रूपमा यसपटकदेखि रजत र कास्य पदक विजेता खेलाडीलाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आगामी मंसिर १६ गते प्रतियोगिताको भव्य उद्घाटन हुनेछ भने मंसिर २७ गते समापन समारोह आयोजना गरिनेछ ।

