काठमाडौँ । अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास तथा अध्ययन अनुसन्धानलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले सुविधासम्पन्न विद्यालय तथा अनुसन्धान केन्द्रको पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार वडा नम्बर २९ मा अभिभावक, बालबालिका र जनप्रतिनिधिहरूको सहभागितामा उक्त भवनको शिलान्यास गरेकी हुन् ।
करिब १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा विस्तार हुने यो पाँचतले भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । आधुनिक संरचनासहित बन्ने उक्त भवनमा तालिम तथा प्रशिक्षण कक्ष, प्रशासनिक इकाई र विशेष अनुसन्धान कक्षहरू रहनेछन् । महानगरपालिकाका अनुसार २०८४ चैत मसान्तभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकालाई समान अवसर र गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन महानगरले विशेष योजना कार्यान्वयनमा ल्याएको स्पष्ट पारिन् । भौतिक संरचना तयार भइसक्दा विद्यालय सञ्चालनका लागि आवश्यक कार्यविधिसमेत निर्माण गरिसक्ने उनले जानकारी दिइन् ।
यो केन्द्र सञ्चालनमा आएपछि अटिजम भएका बालबालिकाको ज्ञान र सीप अभिवृद्धि हुनुका साथै नियमित तालिम, अध्ययन अनुसन्धान तथा अभिभावकहरूलाई आवश्यक परामर्श एवं सहयोग उपलब्ध गराउन सहज हुने अपेक्षा महानगरपालिकाले गरेको छ ।

