कैलाली । चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरू पुनः रोजगारी र अध्ययनका लागि भारततर्फ जाने क्रम बढेसँगै त्रिनगर–गौरीफन्टा सीमा नाकामा यात्रुहरूको अत्यधिक चाप देखिएको छ ।
दसैँ र तिहार सकिएलगत्तै गन्तव्यतर्फ प्रस्थान गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेपछि सीमा क्षेत्रमा लामो लाम लागेको हो ।
दसैँ–तिहारको बिदामा परिवारसँग खुसी साटेर काम र पढाइको सिलसिलामा भारत फर्कने क्रममा यात्रुहरूले सीमामा सुरक्षा जाँचका लागि घण्टौँसम्म लाइनमा उभिनुपरेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरू रोजगारी तथा अध्ययनका लागि भारत आवतजावत गर्न मुख्य रूपमा यही नाका प्रयोग गर्ने गर्छन् ।
चाडबाडपछिको यो बाक्लो आवागमनले एकातिर जीविकोपार्जन र कर्मको बाध्यतालाई दर्शाएको छ भने अर्कोतिर सीमा नाकाको व्यवस्थापनमा देखिएको चुनौतीलाई समेत उजागर गरेको छ ।

