काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेतमा दुईदिने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीले देशका ६ वटा प्रदेशमा तय गरेको प्रशिक्षण अभियानअन्तर्गत आज र भोलि सुर्खेतमा कार्यक्रम आयोजना गर्न लागिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उक्त प्रशिक्षणमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने शुक्रबार नै सुर्खेत पुगिसकेका छन् ।
प्रवक्ता खरेलका अनुसार सुर्खेतको कार्यक्रमपश्चात् आगामी मंसिर १४ र १५ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रशिक्षण सञ्चालन गरिनेछ । उनले अन्य प्रदेशहरूमा पनि क्रमशः यस्तै प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्दै लगिने बताए ।

