सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ डलवास्थित भूमिहीन मुसहर बस्तीका बासिन्दालाई जग्गाको स्वामित्व दिलाउन लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइने भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्रबार उक्त बस्तीको स्थलगत अनुगमन गर्दै कानुनी मापदण्ड पूरा गरेका परिवारलाई लालपुर्जा उपलब्ध गराउने र मापदण्ड नपुगेका परिवारका हकमा समेत कानुनबमोजिम स्वामित्व दिने विकल्प खोजिने बताएकी हुन् ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले सुरक्षित आवास र जग्गाको स्वामित्व नहुँदा भविष्यप्रति चिन्ता बढेको गुनासो मन्त्रीसमक्ष राखेका थिए । विसं २०७४ को बाढीपछि तत्कालीन पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा उक्त बस्ती निर्माण गरिएको थियो ।
स्थानीय बासिन्दाका अनुसार बाढीपछि निर्माण गरिएका ५२ परिवारका घरमा अहिले जनसङ्ख्या बढ्दै जाँदा कोठा अपुग भएको छ । घर र जग्गाको आकार विस्तार गर्न नपाउँदा बसोबासमा समस्या भएको उनीहरूको भनाइ छ । सोही अवस्थाबारे बोल्दै मन्त्री रावलले भूमिहीन दलित बस्तीमा निर्मित घर सीमित र जनसङ्ख्या बढी भएकाले परिवार सङ्ख्याका आधारमा आवास व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
बस्ती अनुगमनअघि मन्त्री रावलले राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको निरीक्षण गर्दै वर्षौँदेखि अवरुद्ध रहेका विकास योजनाहरू सप्तरीबाटै पुनःसञ्चालन गर्ने प्रक्रिया थालनी गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री रावलको अनुगमन टोलीमा सप्तरी निर्वाचन क्षेत्र नं. ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण र सांसद बब्लु गुप्तासमेत सहभागी थिए । बस्ती तथा योजना निरीक्षणअघि मन्त्री रावलले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कङ्कालिनी भगवती र छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरको दर्शन गरेकी थिइन् ।

