ललितपुर । देशका सबै ७५३ स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागेको नेपाली कांग्रेसले त्यसको तयारीस्वरूप आज (मङ्सिर १३ गते आइतबार) प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन परिचालित हुने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न यो कार्यक्रम राखिएको हो ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे अभिमुखीकरण सुरु हुने छ । कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र उपलब्ध अभियानका सबै प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने जुममार्फत भर्चुअल सहभागिताको प्रबन्ध मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन् । उनका अनुसार सम्बन्धित प्रतिनिधिहरूको मोबाइलमा सन्देशमार्फत जुम बैठकको लिङ्क पठाइने छ र सोही लिङ्क प्रयोग गरी निर्धारित समयमा सहभागी हुन अनुरोध गरिएको छ ।
देशभरका ७५३ वटै पालिकामा सञ्चालन हुने यस अभियानलाई उद्देश्यअनुरूप सफल र परिणाममुखी बनाउन अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने पार्टीले जनाएको छ ।

