डोटी/बझाङ । नेपालका सुदूरपश्चिमका जिल्लामा मंगलबार मध्यरातमा आएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आज बिहान २ बजेर १२ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पका कारण ग्रामीण क्षेत्रमा दर्जनौं घर भत्किएको बताइएको छ । जिल्लाको पूर्वचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । मृत्यु हुनेमा पुर्वी चौकी गाउँपालिका-३ ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विपद्मा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको जानकारी दिए ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थल पुगेको छ । अहिले उद्धार कार्य जारी छ भने स्थानीय बासिन्दा पनि उद्धारमा जुटेका छन् ।
यस क्षेत्रका अधिकांश घरमा क्षति पुगेको स्थानीय शिक्षक मीनराज ओझाले जानकारी दिए । भूकम्पका कारण सायल गाउँपालिकाका धेरै ठाउँमा पहिरो गएको सायलका दलबहादुर देउवाले बताए ।
यसअघि मंगलबार साँझ ७ बजे दिपायल केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि परकम्पहरू पनि बारम्बार परेका थिए। कैलाली र कञ्चनपुर जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
बझाङमा भूकम्पपछि मानिसहरु घरबाहिर निस्केर रात बाहिरै बिताएका छन् । खप्तड छन्ना-५ की लक्ष्मीदेवी जोशीले आत्तिएर आगो बालेर बाँकी रात बाहिर खुल्ला ठाउँमा बिताए । (RSS)