पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको प्रारम्भिक काम धमाधम भइरहेको छ । ‘सिद्धबाबा टनेल’ नामक सुरुङ निर्माणका लागि ठेकेदारले डिजाईन तयार गरिसकेको र अहिले आयोजनास्थल अध्ययन गरिरहेको अधिकारीले बताए ।
उनीहरुले माटो परिक्षण गरी अहिले साइट अफिस निर्माण गरी सो क्षेत्रमा बिजुली जडानको व्यवस्था गरिरहेको जानकारी दिए । आठ महिनाअघि ठेक्का पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले डिजाइन स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ ।
डिजाइन स्वीकृत भएपछि ढिलाइ नगरी निर्माण सुरु गर्ने कम्पनीले जनाएको छ । ‘हामीले ठेकेदारबाट माटो परीक्षणको रिपोर्ट पनि लिएका छौं। उनीहरुले अहिले निर्माणस्थलमा ११ केभी बिजुलीको आपूर्ति सुनिश्चित गरिरहेका छन्,’ बुटवल सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासिनीले भने ।
मरासिनीले प्रारम्भिक प्रक्रिया लगभग पूरा भइसकेको र ठेकेदारले छिट्टै निर्माण सुरु गर्ने जानकारी दिए । पाँच वर्षभित्र निर्माण सम्पन्न हुने अधिकारीको भनाइ छ । १२६ मिटर लामो सुरुङ निर्माणका लागि ७ अर्ब ३४ करोड २० लाख पूँजी आवश्यक पर्ने अनुमान गरिएको छ ।
राजमार्गको सिद्धबाबा क्षेत्रमा अविरल पहिरोका कारण वर्षायाममा सवारीसाधन सँधै समस्यामा परेका छन् । सुरुङ निर्माण भएपछि उक्त क्षेत्रको आवतजावत सुरक्षित हुने अधिकारीहरुले बताएका छन् । केही महिनाअघिको मनसुनमा धेरैको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।
सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङलगायतका जिल्लाको आवतजावतमा समेत सहज हुने छ । सुरुङ छिट्टै प्रयोगमा ल्याउने अपेक्षा गरेका छौं,’ तानसेनका स्थानीय भीमसेन कार्कीले भने ।