काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छिन् ।
हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारी त्यहाँ पगेकी हुन् ।
बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिलगायत उच्चपदस्थ अधिकारीहरु उपस्थित थिए ।
देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास पनि छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
विगतमा राष्ट्राध्यक्षको हैसियतमा राजाहरुले वसन्त श्रवण गर्ने चलन रहे पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने थालिएको हो ।