काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची दुई दिनभित्रै दोस्रो पटक पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन् ।
क्षेत्रीय तनाव कम गर्ने उद्देश्यका साथ कूटनीतिक दौडधुपमा रहेका अराघचीले यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तालिका रहेको छ । यसअघि शनिबार मात्रै उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग महत्त्वपूर्ण छलफल गरेका थिए ।
पाकिस्तानसँगको भेटमा उनले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने अडान राख्दै इरानका सर्त र आपत्तिहरू पाकिस्तानमार्फत नै जानकारी गराउने स्पष्ट पारेका छन् । शनिबार साँझ ओमान पुगेर त्यहाँका सुल्तानसँग युद्ध रोक्ने विषयमा विमर्श गरेपछि उनी पुनः पाकिस्तान फर्किएका हुन् ।
इस्लामाबादको संक्षिप्त बसाइपछि अराघची रुसको सेन्ट पिटर्सबर्ग प्रस्थान गर्ने कार्यक्रम छ । रुसमा उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लावरोभसँग भेटवार्ता गर्नेछन् । उक्त बैठकमा इजरायल–इरान तनाव, युद्धको वर्तमान अवस्था र शान्ति स्थापनाका सम्भावित उपायहरूबारे गहन छलफल हुने इरानी सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ ।



