काठमाडौँ । धार्मिक र सांस्कृतिक आस्थाको पर्व नरसिंह जयन्ती आज देशभर भगवान् विष्णुको विशेष आराधना गरी मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनहरूले अधर्मको विनास र सत्यको रक्षा गर्ने देवताका रूपमा नरसिंह भगवानको पूजा–अर्चना गर्ने गर्दछन् । समाजमा व्याप्त खराब प्रवृत्तिका विरुद्ध लड्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ यो दिवस मनाउने परम्परा रहेको छ ।
पौराणिक मान्यता अनुसार, भगवान् विष्णुले आफ्ना परम भक्त प्रह्लादको रक्षा गर्न र अत्याचारी हिरण्यकश्यपुको अन्त्य गर्न आधा शरीर मानिस र आधा सिंहको (नरसिंह) अवतार धारण गरेका थिए । हिरण्यकशिपुले आफूलाई देवताभन्दा शक्तिशाली ठानेर पूजा गर्न बाध्य पारे पनि उनका छोरा प्रह्लाद भने विष्णुको भक्तिमा लीन रहन्थे ।
सोही भक्तिको रक्षा गर्दै भगवान् नरसिंहले हिरण्यकशिपुलाई काखमा राखेर नङले संहार गरी संसारलाई दुष्टताबाट मुक्ति दिलाएको कथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । आजको दिनलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ ।


