काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएको बताएका छन् ।
आज (बिहीबार) पार्टी प्रवेशपछि पत्रकारहरुलाई सम्बोधन गर्दै उनले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू रास्वपा प्रवेश गरेको बताएका हुन् ।
‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो । बहसपछि मलाई लाग्यो, उहाँहरुको सोच र मेरो सोच ठ्याक्कै मिल्यो । त्यसैले रास्वपामा जोडिएँ,’ उनले भने ।
३१ वर्ष लामो बैंकिङ करिअरपछि शाह आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे ।