काठमाडौं । आज देशैभर २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । असार १५ गतेका दिन देशभर धान दिवस तथा रोपाइँ जात्रा आदि नामले मनाइन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताउनु भयो ।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।
धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । किसानहरु असारे भाकामा गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन् । यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन् ।
चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८र७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।