काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ ।
सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमै २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसअघि पहिलो हाफमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टीम १० खेलाडीमा सिमित भएको थियो । जितसँगै नेपालले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।