काठमाडौं । अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर चिसो क्रमशः बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार जोमोममा न्युनतम तापक्रम माइनस २.५ डिग्री थियो । काठमाडौंको न्युनतम तापक्रम शनिबार ११ डिग्री मापन भएको थियो । आज बिहान काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहेको थियो ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।