काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक जेठ ६ गतेका लागि स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गरेका थिए । तर २ बजेसमेत बैठक बस्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने शुक्रबारको बैठक स्थगित गर्न माग गरेको थियो ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् । अहिलेसम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि आजको संसद बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ कांग्रेस नेताहरूसँग छलफल गर्ने बताइएको छ ।