तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले शत्प्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ ।
व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा. विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।
उनले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।” उहाँका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।
किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको छ । यो माछा एक वर्षमा दुई किलोसम्म हुने डा. शाहले बताउनुभयो ।
गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको हो । म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रूपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताउनुभयो ।