बाँके । बाँकेको कोहलपुर नगरपालिका कृषि शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको बीउ वितरण गरेकाले उत्पादन बढ्ने विश्वास व्यक्त गर्नु भयो । गुणस्तर र माटो सुहाउँदो उन्नत जातको धानको बीउले थोरै लगानीमा धेरै धान फलाउन सकिने उहाँको भनाई थियो ।
त्यस्तै सो अवसरमा बोल्दै कृषि विकास शाखा प्रमुख चन्द्रबहादुर बुढाले नगरपालिकाभित्र रहेका १५ वटै वडाका किसानहरूको मागका आधारमा उन्नत जातको धानको बीउ वितरण गरिएको बताउनु भयो ।
कृषि शाखाबाट राधा ४, राम, हर्दिनाथ ६ जस्ता उन्नत जातका धानका बीउ वितरण गरिएको छ । किसानको माग अनुसार शाखाले १० हजार ३ सय ५० केजी उन्नत धानको बीउ खरिद गरी वितरण गरेको कृषि शाखाले जनाएको छ ।
विगतका वर्षमा झैँ समयमै धानको बीउ नपाउँदा बजारबाट महँगोमा किन्नुपर्ने बाध्यता यस वर्ष हटेको किसान राम बहादुर थापाले बताउनु भयो । उहाँले भन्नुभयो,धानको उन्नत जातको बीउ समयमै पाउँदा खुशी लागेका छ ।