म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।
१३ किलोमिटर लामो जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह-आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनी रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिनुभयो । ‘२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘पिप्स, बिटुमिन आयात र उपकरण व्यवस्थापन गरेका छौं । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौं ।’
अठार महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी-जोमसोम-कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो ।
आयोजना प्रमुख ध्रुवकुमार झाका अनुसार यसअघि नै ग्राभेल भइसकेको जोमसोम-कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो ।
जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठवटा खण्डको ११० किलोमिटर सडकमध्ये ६ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ ।
२५ किलोमिटर लामो चराङ-छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ । यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम-कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना प्रमुख झाले जानकारी दिनुभयो ।