काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र सडक डिभिजन कार्यालयबीचको विवाद चर्किएको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ बनाउन भन्दै काटेको सडकमा सडक डिभिजन कार्यालयले आज बिहानै कालोपत्र गरेको छ । बिहानैदेखि सडक डिभिजन कार्यालयका कर्मचारी र कामदार न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र गर्न खटिएका थिए । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले महानगरले काटेर अलपत्र र अस्तव्यस्त भएपछि सडक कालोपत्र गरिएको जानकारी दिनुभयो ।
महानगरले ती सडकमा स्मार्ट पार्किङको नाममा सडक ओगट्ने काम भइरहेकाले सेवाग्राहीको लागि फुटपाथ विस्तार गर्न खोजेको बताएको छ ।
सडक कार्यालयले सडक कालोपत्र गर्न थालेपछि महानगर प्रहरी न्युरोड क्षेत्रमा पुगेपछि केहीबेर तनाव भएको थियो । सडक पुनःस्थापनाका लागि सडक डिभिजन काठमाडौंले जेठ १६ गते महानगरलाई दुई दिनभित्र सडक जस्ताको त्यस्तै बनाउन पत्र लेखेको थियो । महानगरले भने पैदलयात्रीलाई अप्ठेरो भएको भन्दै फुटपाथ क्षेत्र बढाउन सडक काटिएको दाबी गर्दै आएको छ । फुटपाथ बनाउन ठेक्का नै दिइसकेपछि सडक डिभिजन कार्यालयले विवाद झिकेको महानगरको भनाइ छ ।
केही दिनअघि मेयर शाहले एक ट्रक धूलो फोहोर डिभिजन सडक कार्यालय मीनभवन र सडक विभाग कार्यालय बबरमहल अगाडि खन्याउन लगाएपछि विवाद सुरु भएको हो ।