काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा च्याम्पियन ट्रफी उचाल्दा कप्तान रोहितकुमार पौडेल र स्पिनर शेर मल्लका लागि विशेष दिन नै बन्यो ।
हुन त च्याम्पियन बन्नु सबै कप्तान र टोलीका सदस्यका लागि विशेष नै हुन्छ तर लुम्बिनीको सफलताको कथा अली फरक र रोचक नै छ । किनकि उतारचढाव र आलोचनाका बीच रोहितले लुम्बिनीलाई च्याम्पियनको ट्रफी दिलाएका हुन् ।
लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जितपछि शनिबार एनपिएलको उपाधि उचाल्यो । यससँगै दोस्रोपल्ट पनि सुदूरपश्चिम उपाधि जित्न असफल भयो । पहिलो संस्करणमा पनि फाइनलमा जनकपुर बोल्ट्सँग पराजित हुँदा सुदूरपश्चिम उपाधिविहीन बन्नु परेको थियो । यसल्ट सुरुदेखि नै सुदूरपश्चिम दाबेदारकै रूपमा हेरिएको टोली हो ।
फाइनल यात्रासम्म सुदूरपश्चिमले सोहीअनुरूप प्रदर्शन पनि गर्यो । तथापि उपाधि जित्ने दबाब खेपेपछि सुदूरपश्चिम फेरि असफल भयो । फाइनलमा कुनै समय पनि सुदूरपश्चिम हाबी हुन सकेन। खेलमा लुम्बिनीको एकपक्षीय नै रह्यो ।



