काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन् ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । पछिल्लो समय बहुमूल्य धातुको मूल्यमा भइरहेको यो अस्वभाविक वृद्धिले आम उपभोक्ता र गरगहना व्यवसायीहरूलाई समेत अचम्मित तुल्याएको छ ।



