काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशिला कार्कीले देशबासीका नाममा विशेष सम्बोधन गर्दै सम्पूर्ण मतदाताहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेकी छिन् ।
सम्बोधनका क्रममा उनले मतदान गर्नु भनेको केवल एउटा चुनावी प्रक्रिया मात्र नभएर आफ्नो र आफ्ना भावी सन्ततिको भाग्य र भविष्यको रेखा कोर्ने महत्वपूर्ण अवसर भएको स्पष्ट पारिन् । उनले हरेक नागरिकको एक मतले राष्ट्रको दिशा तय गर्ने भएकाले यस महान् पर्वमा उत्साहका साथ सहभागी हुन अपील गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि सबैमा संयम र आपसी सम्मान कायम राख्न विशेष जोड दिइन् । उनले निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्दै सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने बताइन् । “देशमा दण्डहीनतालाई कुनै पनि स्थान दिइने छैन,” उनले चेतावनी दिँदै भनिन्, “निर्वाचनलाई प्रभावित पार्ने वा कानुन हातमा लिने जो कोहीलाई पनि कडा कारबाही गरिनेछ ।”
यसैगरी, फागु पूर्णिमाको पावन अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले रङ्गको पर्व होली र निर्वाचन दुवैलाई एकता र उमङ्गको प्रतीकका रूपमा मनाउन अनुरोध गरिन् । उनले आफ्नो सम्बोधनमा हाल मध्यपूर्वी क्षेत्रमा देखिएको बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा सक्रिय र सचेत रहेको जानकारी समेत दिइन् । प्रधानमन्त्रीको यो सम्बोधनले चुनावी चटारोका बीच नागरिकमा सुरक्षा र भरोसाको नयाँ सन्देश प्रवाह गरेको छ ।



