ढाका । बंगलादेशमा १३औँ राष्ट्रिय संसदीय निर्वाचनका लागि आज बिहान ७ बजेदेखि कडा सुरक्षाबीच देशभर मतदान सुरु भएको छ।
सन् २०२४ को अक्टोबरमा भएको विद्रोह र शेख हसिनको बहिर्गमनपछि हुन लागेको यो पहिलो आम निर्वाचनलाई बंगलादेशको लोकतान्त्रिक भविष्यका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
यस पटकको निर्वाचनमा पूर्व प्रधानमन्त्री सेख हसिनको दल ‘अवामी लिग’ लाई प्रतिबन्ध लगाइएको छ। त्यसैले मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघिको उसको सहयोगी जमात–ए–इस्लामी बीच देखिएको छ।
तारिक रहमानको पुनरागमन र राजनीतिक समीकरण : १७ वर्षको लामो निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका बीएनपीका प्रमुख तारिक रहमानले अहिले आफ्नो पार्टीको चुनावी अभियानको नेतृत्व गरिरहेका छन्। निर्वाचनअघिका विभिन्न जनमत सर्वेक्षणहरूले बीएनपीलाई अग्रस्थानमा देखाएका छन्, जसले रहमानलाई आगामी सरकार गठनको प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
निर्वाचनका रोचक पक्षहरू :
-
मतदानको दायरा : देशका ३०० संसदीय सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ (एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित)।
-
मतदाता संख्या : कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।
-
आचारसंहिताको कडाइ : यसपटक निर्वाचन आयोगले प्रचारप्रसारमा कडाइ गर्दै केवल कालो–सेतो ब्यानर र पोस्टर मात्र अनुमति दिएको छ। पर्खालमा पोस्टर टाँस्न निषेध गरिएकाले डोरीको सहायताले पोस्टरहरू झुण्ड्याइएको दृश्य ढाकाका सडकमा आम देखिएको छ।
विश्व बैंकको सहयोग र राजनीतिक विवाद : मतदान सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै विश्व बैंकले ढाकाका लागि ३७ करोड अमेरिकी डलर (करिब ३३.५ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग घोषणा गरेको छ। यो रकम प्रदूषित नदी सफा गर्न, ढल व्यवस्थापन र फोहोर व्यवस्थापनमा खर्च गरिने भनिए पनि यसको ‘टाइमिङ‘ लाई लिएर राजनीतिक वृत्तमा प्रश्न उठेको छ।
केही राजनीतिक विश्लेषकहरूले मतदानको मुखमा आएको यो ठुलो सहयोगलाई मतदाता प्रभावित पार्ने रणनीतिक कदमका रूपमा आशंका व्यक्त गरेका छन् ।



