काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संकल्प-पत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पार्टीले आफ्ना भावी योजना र एजेन्डाहरू सार्वजनिक गरेको हो ।
मुख्य एजेन्डाहरू:
राप्रपाले यस पटकको घोषणापत्रमा पाँचवटा मुख्य मुद्दालाई प्राथमिकताका साथ उठाएको छ:
१. राजसंस्था र हिन्दु राष्ट्र: अभिभावकीय संस्थाको रूपमा राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र ।
२. प्रदेश खारेजी: हालको प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरूप ।
३. कार्यकालको सीमा: एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था ।
४. सम्पत्ति छानबिन: २०४६ पछिका उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्न ‘उच्चस्तरीय नागरिक आयोग’ गठन ।
५. निर्वाचन प्रणाली: वर्तमान प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था ।
यसका साथै राप्रपाले न्यायपालिकाको पुनर्संरचना, स्वार्थको द्वन्द्वसम्बन्धी कानुन र राजनैतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको संकल्प पनि गरेको छ ।



