काठमाडौँ, ४ फागुन । नेपाल र जापानबीचको पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई देशका अधिकारीहरूले हस्ताक्षर गरेका हुन् ।
सहकार्यका मुख्य क्षेत्रहरू :
यस समझदारीले निम्न पाँचवटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ :
१. संयुक्त प्रवर्द्धन: नेपाल र वाकायामाको पर्यटकीय गन्तव्यहरूको संयुक्त मार्केटिङ गर्ने ।
२. ज्ञान र अभ्यास: दिगो पर्यटन विकासका उत्कृष्ट अभ्यास र सूचना आदानप्रदान गर्ने ।
३. विज्ञ भ्रमण: दुवै देशका पर्यटन विज्ञ तथा अधिकारीहरूको नियमित भ्रमण आदानप्रदान ।
४. सञ्चार र जनसम्पर्क: अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनका लागि सञ्चार सहकार्य ।
५. सांस्कृतिक सम्मान: सांस्कृतिक सम्पदाको सम्मान गर्दै उत्तरदायी पर्यटनलाई बढवा दिने ।
जापानी पर्यटकको आकर्षण बढ्दो
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापान नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटकको आगमनमा करिब आठ प्रतिशतले वृद्धि भएको जानकारी दिए । “हिमालयको देश र बुद्धको जन्मस्थलका रूपमा जापानीहरूका लागि नेपाल सधैँ आकर्षणको केन्द्र रहँदै आएको छ,” उनले भने ।
कूटनीतिक सम्बन्धको ७०औँ वर्ष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा भएको यो सहकार्यलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । “जापानसँगको हाम्रो सम्बन्ध सांस्कृतिक र भावनात्मक छ। यो समझदारीले दिगो र उत्तरदायी पर्यटनका लागि बलियो आधार प्रदान गर्नेछ,” मन्त्री सिन्हाले भने ।
वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले पनि इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउनु वाकायामाका लागि खुसीको कुरा भएको बताए ।



