काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा पटक-पटक सोधिने ‘प्रमाण खोइ ?’ भन्ने प्रश्नको कानुनी जवाफ दिएका छन् ।
कांग्रेसको प्रतिज्ञा अभियानअन्तर्गत आम सर्वसाधारणका प्रश्नको उत्तर दिन आयोजित कार्यक्रममा बोल्दै थापाले लामिछानेको संलग्नता आफैँले खडा गरेको आरोप नभई अदालतको ठहर भएको दाबी गरे ।
प्रमाण मसँग होइन, अदालतको मिसिलमा छ
सभापति थापाले लामिछाने विरुद्धका प्रमाणहरूका रूपमा सर्वोच्च र जिल्ला अदालतका फैसला एवं तथ्यहरू प्रस्तुत गरे । उनले भने:
“साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु। यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।”
सेयर र लगानीको विवाद
सभापति थापाले सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध फैसलाको बुँदा नै उल्लेख गर्दै लामिछानेले दाबी गरे जस्तो सेयर निःशुल्क नपाएको जिकिर गरे। “लामिछानेले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयरका लागि लगानी गरिएको रकम सहकारीकै भएको कुरा सर्वोच्चले ठहर गरिसकेको छ,” थापाले भने।
उनले प्रश्न गर्नेहरूलाई आफूमाथि खनिनु भन्दा पहिले अदालतका फैसला र जिल्ला अदालतमा बुझाइएका मिसिलहरू अध्ययन गर्न चुनौतीसमेत दिएका छन्।



