काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
यसको असरस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ। देशका अन्य पहाडी भेगमा पनि आंशिक बदलीको अवस्था छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी पहाडी भेगमा आंशिक बदली हुने मौसमविद्हरूको अनुमान छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहने भए पनि बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्छ।
आज राति पनि हिमाली भू-भागमा सामान्य बदली रहने देखिन्छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने राति तुँवालो लाग्न सक्ने र बाँकी क्षेत्रको मौसम सफा रहने विभागले जनाएको छ।



