काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) माथि इरानले ठूलो परिमाणमा मिसाइल र ड्रोन प्रहार गरेपछि खाडी क्षेत्रमा युद्धको त्रास थप गहिरिएको छ ।
युएईको रक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, इरानले अहिलेसम्म १८६ वटा मिसाइल र ८१२ वटा ड्रोनमार्फत आक्रमण गरिसकेको छ । यस अभूतपूर्व आक्रमणका बीच युएईको अत्याधुनिक हवाई रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) ले अधिकांश प्रहारलाई आकासमै विफल तुल्याई ठूलो क्षति हुनबाट जोगाएको दाबी मन्त्रालयले गरेको छ ।
मन्त्रालयका अनुसार, इरानले प्रक्षेपण गरेका १८६ मिसाइलमध्ये १७२ वटालाई हवाई मार्गमै रोकेर नष्ट गरिएको छ । बाँकी रहेका मिसाइलमध्ये १३ वटा समुद्रमा खसेका छन् भने एउटा मिसाइल मात्र युएईको जमिनमा खस्न सफल भएको छ । यसैगरी, विध्वंश मच्चाउन पठाइएका ८१२ वटा ड्रोनमध्ये ७५५ वटालाई युएईको प्रतिरक्षा प्रणालीले बीचैमा ‘इन्टरसेप्ट’ गरी खसालेको छ । यो तथ्याङ्कले युएईको प्रतिरक्षा संयन्त्र निकै मजबुत रहेको देखाए तापनि लगातारको आक्रमणले त्यहाँ बसोबास गर्ने नेपाली लगायत विदेशी नागरिकमा भने त्रास सिर्जना गरेको छ ।
रक्षा मन्त्रालयले मुलुकको सुरक्षा सुनिश्चित गर्न आफ्नो ‘एयर डिफेन्स सिस्टम’ लाई पूर्ण रूपमा सतर्क अवस्थामा राखिएको स्पष्ट पारेको छ । नागरिकको जीउधनको रक्षाका लागि सरकारले हरेक आवश्यक कदम चालेको भन्दै मन्त्रालयले संयमता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय मध्यपूर्वमा इरान र यसका छिमेकी मुलुकहरूबीच बढ्दै गएको यो टकरावले विश्वव्यापी तेल आपूर्ति र क्षेत्रीय शान्तिमा गम्भीर चुनौती थपेको छ ।



