काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा सुरक्षा जाँचलाई तीव्र पारिएसँगै पर्सा र सिरहाबाट दुई जना उम्मेदवार प्रहरी नियन्त्रणमा परेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले बडनिहार क्षेत्रबाट नियन्त्रणमा लिएको छ । नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार सवारी साधनमा केही शङ्कास्पद वस्तु फेला परेपछि उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हाल उक्त क्षेत्रलाई सुरक्षा घेराबन्दीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
यसैगरी, सिरहा क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादवलाई ठुलो परिमाणको नगदसहित पक्राउ गरिएको छ । मंगलबार मध्यरातमा माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा रोकी जाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको थियो । मौन अवधिको समयमा अवैध रूपमा रकम ओसारपसार गरेको आशङ्कामा यादवसहित गाडीमा सवार पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद गरिएको रकम र पक्राउ परेका उम्मेदवार यादवलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउने तयारी गरेको छ । पर्सामा पक्राउ परेका चौधरीको हकमा भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ र छिट्टै पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइने बताइएको छ । निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन प्रहरीले नाकाहरूमा कडा निगरानी राखेको यस घटनाले प्रस्ट पारेको छ ।



