काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्ध चाँडै समाप्त हुने’ अभिव्यक्ति दिएसँगै लगानीकर्ताहरूमा उत्साह देखिएको हो, जसले गर्दा तेलको मूल्य झन्डै ९ प्रतिशतसम्म घटेको छ ।
तेल बजारको ताजा अवस्था: एशियाली कारोबारको प्रारम्भमै अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० डलर कायम भएको छ। सोमबार मात्रै यसको मूल्य ११५ डलरको हाराहारीमा पुगेको थियो। त्यस्तै, अमेरिकी तेल (WTI) पनि ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० डलरमा कारोबार भइरहेको छ। विश्लेषकहरूका अनुसार युद्ध अन्त्य हुने सङ्केतले विश्व आपूर्ति शृङ्खलामा रहेको अनिश्चितता कम गरिदिएको छ ।
मिश्रित शेयर बजार: तेलको मूल्य घट्दा एसियाली शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ:
- दक्षिण कोरिया : ५.१० प्रतिशतको वृद्धिसहित ५,५१८ अंक।
- जापान : ३.२० प्रतिशत (१,६७० अंक) बढेर ५४,३९९ अंक।
- हङकङ : १.२८ प्रतिशतले बढ्दै २५,७३१ अंक।
- चीन : भने ०.३२ प्रतिशतले सामान्य घटेको छ।
यद्यपि, अमेरिकी बजारमा भने केही गिरावट देखिएको छ। डाउ जोन्स ०.५० प्रतिशत, नास्ड्याक १.३८ प्रतिशत र एस एण्ड पी ५०० इन्डेक्स ०.८३ प्रतिशतले घटेर बन्द भएका छन्।
अझै ३० प्रतिशत महँगो:
बजारमा देखिएको यो गिरावट सकारात्मक भए तापनि कच्चा तेलको वर्तमान मूल्य युद्ध सुरु हुनु अघिको तुलनामा अझै करिब ३० प्रतिशत उच्च स्तरमै छ। ट्रम्पको बयानले लगानीकर्ताको मनोबल बढाए पनि मूल्य स्थायित्वका लागि युद्धको वास्तविक अन्त्य र आपूर्ति शृङ्खलाको सहजता नै मुख्य आधार हुने विश्लेषकहरूको ठहर छ।



