काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बदली रहेको छ । कोशी , गण्डकी , लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा अहिले हल्का वर्षा र हिमपात भइरहेको विभागले जनाएको छ ।
देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै स्थानहरूमा तथा बाँकी हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यस्तै , कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा साधारणतया बदली रहनेछ । गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागमा आंशिक बदली रहने भए पनि देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ । यद्यपि , कोशी , गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ ।
पहाडी र हिमाली क्षेत्रमा हुन सक्ने सामान्य वर्षा र हिमपातलाई ध्यानमा राखेर सतर्क रहन विभागले सबैमा अनुरोध गरेको छ ।



