सिन्धुली । सिन्धुलीको बी.पी. राजमार्ग सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब ९ बजे सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरमा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्को टले जनाएको छ ।
प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ जाँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मन्थली नगरपालिका–६ का ४५ वर्षीय डल्ले माझीको मृत्यु भएको छ । गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे पुर्याइएको भए तापनि चिकित्सकले राति १०:१५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक ३२ वर्षीय कैलाश तोलाङ्गे र पछाडि सवार ४९ वर्षीय दिपेन्द्र के.सी. घाइते भएका छन् । उनीहरूको टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । हाल उनीहरूको सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । बी.पी. राजमार्गको उक्त खण्डमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।



