सुर्खेत । कर्णाली प्रदेशको भ्रमणका क्रममा प्रधानमन्त्री सुशीला कार्की आज बिहीबार बिहान पर्यटकीय नगरी मुगु पुग्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै मुगु ओर्लिनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध रारा तालको वस्तुस्थिति अवलोकन गर्नुभएको हो ।
रारा पुगेलगत्तै उहाँले तालको वर्तमान वस्तुस्थिति र वातावरणीय अवस्थाको अवलोकन गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले स्थानीय सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी सो क्षेत्रको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार राराको पर्यटकीय प्रवद्र्धन र सुरक्षा अधिकारीहरूसँगको विशेष छलफलका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार प्रधानमन्त्रीले मुगु र जुम्लाको भ्रमण सम्पन्न गरेर शुक्रबार त्यहीँबाटै जनकपुर प्रस्थान गर्ने योजना रहेको छ । मुगु र जुम्लामा हुने अन्य औपचारिक कार्यक्रमहरूको विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रजिअ खत्रीले बताउनुभयो ।
प्रधानमन्त्रीको यस भ्रमण टोलीमा उहाँका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी , आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल सहभागी हुनुहुन्छ । कर्णालीको विकास र सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यस भ्रमणलाई स्थानीय स्तरमा महत्त्वका साथ हेरिएको छ ।



