धनगढी । सुदूरपश्चिमको पहाडी र तराईका जिल्ला जोड्ने रणनीतिक सडक धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले खण्डमा पूर्वाधार निर्माणले नयाँ गति लिएको छ । सडक योजना कार्यालयका अनुसार यस खण्डमा पर्ने जोनापुर र सुकुटी खोलामा दुईवटा पक्की पुलको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
यी दुवै पुलहरू कुल ३ करोड १५ लाख रुपैयाँको लगानीमा तयार पारिएका हुन् । इन्जिनियर दीपक देवकोटाका अनुसार पुलसँगै खोलाको कटान नियन्त्रणका लागि तटबन्ध र सडकको कालोपत्र गर्ने कार्य पनि सँगसँगै पुरा गरिएको छ । निर्माण कम्पनीले यी संरचनाहरू गत साता नै सडक आयोजना कार्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गरिसकेको छ ।
यस खण्डमा पुलहरू सञ्चालनमा आएसँगै वर्षायाममा समेत यातायात आवागमन सुरक्षित र व्यवस्थित हुने विश्वास गरिएको छ । यसले धनगढीदेखि दीपायलसम्मको यात्रा समय घटाउन र स्थानीय व्यापारलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्नेछ ।



